सप्तकोशीका ४१ ढोका खोलिए , मेलम्ची खोलामा आएको बाढीले बेलीब्रिज बगाउने खतरा बढ्यो


प्रकाशित मिति : असार २२, २०८१ शनिबार

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा ३ लाख १६ हजार ८ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

उता लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ ।

बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो ।

रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ ।

हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com