असार मसान्तको दवाव : पितृशोकमा रहेका लेखाअधिकृत गाउँपालिकाको काममा घरबाटै सकृय


प्रकाशित मिति : असार २३, २०८१ आईतबार

लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुनुहुन्छ ।

घिमिरेलाई यतिबेला पितृशोक परेको छ । घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहनुभएको छ ।

यही असार १९ गते उहाँका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँले भन्नुभयो, बुबाको यही १९ गते निधन भयो, आमाको पाँच महिनाअघि हृदयघातका कारण मृत्यु भइसकेको छ ।

यसहिसाबले पीडा त तर आर्थिक वर्षको अन्तिमतिर भएकाले गाउँपालिकाको काम रोक्नु त भएन, त्यसैले किरिया बसेकै अवस्थामा काम गरिरहेको छु ।

बुवाको निधन भएको भोलिपल्टै २० गतेदेखि नै आफूँले कार्यालयको काम गरिरहेको लेखा अधिकृत घिमिरेले बताउनुभयो ।

पालिकामा लेखापाल पद रिक्त छ, त्यसैले लेखाको काम म एक्लैले गर्नुपर्ने बाध्यता छ ।

कार्मचारी नहुँदा काम भएन भनेर किन पार्नु वित्तीय अनुशासन र आर्थिक दृष्टिकोणले समेत उचित नहुने ठानेर पीडा भुलेर यसरी काम गरिरहेको छु उहाँले भन्नुभयो ।

उहाँले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई भनेर आवश्यक कागजात, ल्यापटपलगायत सामग्री घरमै मगाएर काम गरिरहनुभएको छ । नेपाल सरकारको नियमानुसार क्रिया बिदा १५ दिन बस्न पाइन्छ ।

गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बुबाको निधनको पीडा हुँदा पनि घिमिरेले कार्यालयको काम गरिरहेका भन्दै प्रशंसा गर्नुभयो ।

घिमिरेले काम गर्छु भनेपछि आफूहरूले सोहीअनुसार सहजीकरण तथा सहयोग गरिरहेका उहाँले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com