एक अर्बको लगानीमा चितवनमा रिसोर्ट, हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार र संस्कृति उपलव्ध गराउने लक्ष्य


प्रकाशित मिति : असार २३, २०८१ आईतबार

चितवनको कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।

हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।

व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आउनुभएको छ । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् ।

उहाँले भन्नुभयो, लङ्कालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।

रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन् ।

उहाँले भन्नुभयो, रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ । सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन् ।

पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् । उहाँका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन् ।

विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ ।

पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो ।

व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ ।

रिसोर्टमा हालसम्म ५० करोडभन्दा बढी लगानी भइसकेको छ । आगामी छ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी एक अर्ब माथि नै पुग्ने छ ।

आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताउनुभयो ।

हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गर्नुभएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com