युक्रेनको बाल अस्पतालमा रुसको हमला , २० जनाको ज्यान गयो ३१ घाइते


प्रकाशित मिति : असार २४, २०८१ सोमबार

रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।

त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ । त्यहाँ ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताउनुभयो ।

केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाका अनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको हो ।

किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण शहरका भवनहरू हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताउनुभएको छ ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले शहरका सडकमा धेरै मानिस भेला भइरहेका बेला आक्रमण भएको बताएका छन् ।

युक्रेनलाई गठबन्धनको अटुट समर्थनबारे कसरी आश्वस्त पार्ने र दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्वबाट युक्रेन कसरी गुज्रन सक्छ भन्ने आशा जगाउने उद्देश्यका साथ वासिङ्टनमा हुने नेटोको तीन दिने शिखर सम्मेलनको पूर्वसन्ध्यामा यो आक्रमण भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com