एमाले अध्यक्ष ओली नेपालको ४५ औ प्रधानमन्त्री नियुक्त, शपथ सोमबार बिहान ११ बजे हुने


प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

ओली नेपालको ४५ औ प्रधानमन्त्री बन्नुभएको छ । यो उहाँको चौथो कार्यकाल हुनेछ ।

प्रचण्ड नेतृत्वको सरकार बिश्वासको मत नपाएर ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो ।

ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवासंगै शीतल निवास पुगेर ओलीले दावी पेश गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो ।

संविधानको धारा ७६ को उपधारा २ मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे हुने शपथग्रहण समारोहका लागि सम्बन्धित सबैलाई निमन्त्रणा समेत गरिसकेको छ ।

ओली २४ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । ३ फागुन ०७४ मा करिब दुई तिहाइ सांसदको समर्थनमा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नुभएको थियो ।

३० वैशाख ०७८ मा राष्ट्रपतिबाट तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

ओली पहिलोपल्ट २०५१ सालमा गृहमन्त्रीका रूपमा सरकारमा सामेल हुनु भएको थियो । मनमोहन अधिकारी नेतृत्वको उक्त सरकार ९ महिनामै ढलेको थियो।

त्यसपछि उहाँ २०६३ सालमा परराष्ट्रमन्त्री हुनुभएको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको उक्त सरकारमा उहाँको २०६४ चैत १८ सम्म कार्यकाल रहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com