रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको ज्यान गयो , एकजना बेपत्ता


प्रकाशित मिति : असार ३१, २०८१ सोमबार

रुकुमपश्चिममा सोमबारराति आएको बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु भएको छ । बाढीमा पुरिएका ३ बालिकाको शव निकालिएको छ ।

आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ ।

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com