अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित,धेरै खोर खाली


प्रकाशित मिति : श्रावण २, २०८१ बुधबार

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत चितवनका किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।

बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ ।

अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उहाँ बताउनुहुन्छ । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए ।

अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य रु १६ रहेको छ ।

गत महिनाबाट अण्डाको मूल्य प्रतिगोटा रु १६ हाराहारी आएपछि लागत मूल्य नजिक आएको भट्ट बताउनुहुन्छ । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल धेरै अण्डा उत्पादक किसानले बैङ्कको ऋण र ब्याज तिर्न नसकेको बताउनुहुन्छ ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कँडेलको भनाइमा दुई लाख ८२ हजार उद्योगी बैङ्कको कालो सूचीमा छन् । तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी रहेको उहाँको भनाइ छ ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायत कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउनुहुन्छ ।

अघिल्ला वर्षहरुमा बैङ्कको ब्याज बढी हुँदा खर्च धान्न कठिन भएको उहाँको भनाइ छ ।

दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उहाँ बताउनुहुन्छ ।

नेपालमा अहिले अण्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान एवं फार्मको सङ्ख्या १५ रहेको छ ।

अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com