एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन , वार्षिक करोडौँ आम्दानी
प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार
यस वर्ष खोटाङमा १ सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ ।
यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ ।
जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ ।
आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।
लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।