अमेरिकामा बस्ने नेपालीले गाउँघर मिस गरेर लोकगीत सुन्दा हौसला मिल्छ: बिमल डाँगी
प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार
डोल्पामा जन्मिएका चर्चित लोक दोहोरी गायक बिमल डाँगी १२ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । फापरको पिठो पठाइदेउ आमा, पानसमा बत्ती बालेको जस्ता कैयन चर्चित गीतका गायक हुन् डाँगी । २०५६ सालदेखि संगित क्षेत्रमा प्रवेश गरेका उनी न्युयोर्कमा रहेर पनि गीत संगितमा सकृय रहदै आएका छन् । नेपाली अमेरिकन कलाकार संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका डाँगीको बाल्यकालदेखि नै लोक गीतमा रुची रहेको थियो । विद्यालयमा पढ्दा समेत गीतहरु गुनगुनाउने, स्कुलका कार्यक्रमहरुमा पनि सहभागी हुने उनी एसएलसी सकेपछि संगीत नै पढ्न भनेर काठमाडौं आएका थिए । काठमाडौंको ललितकला क्याम्पसबाट संगीत र शास्त्री विधाबाट प्रमाणपत्र तह उत्तिर्ण गरेका उनले त्यसपछि अध्ययनलाई त निरन्तरता दिन सकेनन् तर गीत संगीतमा भने उनको निरन्तरता कायम रह्यो । उनका प्रायः गीतहरु मायाप्रेममा आधारित छन् । त्यो बाहेक गाउँघरमा गरिबीका पीडाहरु, विदेशिनुपर्ने बाध्यताहरु, राजनीतिक परिवेशलाई लिएर पनि केही गीतहरु सिर्जना गरे । समाजलाई चेतना गराउने खालका गीतहरु पनि गरेका उनले माया पिरतीबाहेक गीतको माध्यमबाट विविध किसिमका सन्देशहरु तथा जनचेतना फैलाउने काम समेत गरेका छन् । उनै गायक बिमल डाँगीसमक्ष न्युयोर्क फल्चाका लागि खसोखास सम्पादक दीपक परियारले १० प्रश्न राखेका छन् ।
अमेरिका बस्ने नेपालीहरुलाई लामो समयदेखि गीत संगितको माध्यमबाट मनोरञ्जन दिँदै आउनुभएको छ, प्रवासी नेपालीहरुको साहित्य, कला र गीतसंगितप्रति कस्तो मनोभाव पाउनुभएको छ ?
विदेशमा रहने नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुले गाउँघरलाई मिस गरेर पनि होला, नेपाली गित संगितलाई माया गर्नुहुन्छ । पुराना गितहरु सुन्न खोज्नुहुन्छ । अहिले चलनचल्तीमा रहेका गीतहरु पनि सुन्न खोज्नुहुन्छ । त्यस्ता खालका अनुरोधहरु पनि धेरै आउँछन् । नेपालीहरु जहाँ रहेपनि आफ्नो संस्कृति, गीत संगितलाई माया गर्नुहुन्छ । जसले हामी कलाकारहरुलाई पनि हौसला मिलेको छ ।
प्रवासी नेपालीहरुकोबीचमा अहिलेसम्म कति गीत तयार पार्नुभयो ? ती गीत संगितले प्रवासमा बस्ने नेपालीहरुको नेपालप्रति भावनामा तपाइँका गीत संगितहरुले कस्तो प्रभाव पारिरहेको हुन्छ ?
गीतहरुले प्रवासमा रहेका नेपालीहरुलाई नेपाल सम्झाउने, झल्काउने माध्यम त छँदै छ । त्यो बाहेक मनोरञ्जनको हिसाबले पनि साथ दिन्छन् भन्ने लाग्छ । काम गरेर थाकेकाहरुलाई केही हदसम्म पनि मनोरञ्जन दिन्छ भन्ने मलाई महशुस हुन्छ ।
तपाइँ नेपाली अमेरिकन कलाकार संघको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ, यो संस्था र तपाइँको टिमले कस्तो भूमिका खेलिरहनुभएको छ ?
अब सस्थांगत माध्यमबाट चाँहीले हामीले बेलाबेलामा वर्षको एक दुई पटक विशेषगरी नेपाली संस्कृतीहरुलाई झल्काउने गरिरहेका छौं । त्यो बाहेक नेपालबाट आउने कलाकारहरुलाई पनि प्रोमोट गर्ने र प्लेटफर्म प्रदान गर्ने हिसाबले पनि संस्थागत रुपमा काम भइरहेको छ । यहाँ उत्पादित कलाकार र नेपालबाट आएर स्थापित भएका कलाकारहरुलाई पनि निरन्तरता दिन, हौसला बढाउन संस्थाले महत्वपूर्ण भूमीका खेलिरहेको छ ।
नेपाली कलाकार र विदेशी कलाकारबीच सम्बन्ध स्थापित गर्न संस्थाको भूमीका के छ ?
खेल्नुपर्ने भूमीकाहरु त धेरै नै छ । तर, अहिले एउटा माध्यम बनेको छ । हाम्रो संस्कृतिलाई यहाँका निकायहरु, संघसंस्थाहरु, यूएनको कार्यालयमा पनि केही वर्षअघि संघको तर्फबाट कार्यक्रमहरु गरेका थियौं । मेयरको कार्यालयमा पनि बेलाबेलामा गइरहेका छौं । यहाँका विभिन्न निकायहरुमा नेपाली संस्कृतिहरु प्रर्दशन गर्ने कोशिस गरिरहेका छौं । गर्नु पर्ने काम धेरै छ तरपनि, एउटा कोशिस चाँही जारी छ । त्यसले एउटा राम्रो भूमीका खेल्छ भन्ने मलाई विश्वास छ ।
अमेरिकामा नेपालीकलाप्रति जनचासो र सहकार्य कस्तो छ ?
सहकार्य चाँही त्यति सहज तरिकाले हुन सकिरहेको छैन् । तर, यहाँका विभिन्न देशका कलाकारहरुसँग त्यो कोशिस चाँही जारी रहनेछ । कहिलेकाँही अन्तर्राष्ट्रिय महोत्सवहरु हुन्छन्, त्यसमा चाँही विभिन्न देशका विशेष गरी एशियन मुलुकका कलाकारहरुसँग हाम्रो कार्यक्रमहरु भइरहन्छन्, सहकार्य भइरहन्छन् । हलिउड र अन्य अमेरिकी कलाकारहरुसँग भने हाम्रो त्यति बढी सहकार्य हुन सकिरहेको छैन् ।
नेपाली अमेरिकन कलाकार संघका भावी योजनाहरु कस्ता छन् ? नेपाली कलाकारहरुले कस्तो खालको लाभ लिन सक्छन् ?
हाम्रा केही योजनाहरु छन् । संगीत र नृत्यको कक्षा सञ्चालन गर्ने लगायतका योजना छन् । जसले नयाँ कलाकारहरुलाई फाइदा गर्छ । नेपालबाट आउने कलाकारहरुलाई आत्मियताको लागि भएपनि स्वागत कार्यक्रमहरु गरिराखेका छौं । हामीले नेपाली कलाकारहरु यहाँ आउँदा कार्यक्रमहरु पनि गरिरहेका हुन्छौं । हाम्रो मुख्य उद्धेश्य भनेको संगीतलाई निरन्तररुपमा अगाडी बढाउने, देशविदेश पहिचान बढाउने नै हो ।
कलाकारहरुका समस्यालाई यहाँहरुले कसरी सम्बोधन गर्नुभएको छ ?
व्यक्तिगत रुपमा कतिपय कलाकारहरु आर्थिक रुपमा विपन्न हुन्छन्, कतिपय विरामी भएर स्वास्थ्यले काम नगर्ने अवस्थामा पनि हुन्छन् । त्यसमा चाँही कलाकार संघको तर्फबाट धेरै थोरै सहयोग पहिलेदेखि नै गरिदैँ आइएको छ । अमेरिकामा बस्ने कलाकार भन्दा नेपालमा अलिकति विपन्न, आर्थिक हिसाबले कमजोर कलाकारहरुलाई संस्थाले सहयोग गरिराखेको छ । अमेरिकामा बस्ने कलाकारहरुको पनि त्यस्तो अवस्था आयो भने भविष्यका दिनहरुमा संस्थाले सहयोग गर्छ ।
तपाइँ लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ, नेपाली संस्कृति र सभ्यतालाई बचाउन कस्ता भूमिका आवश्यक ठान्नुभएको छ ?
नयाँ विषयहरुलाई गीतसंगीतमार्फत समाजमा ल्याउने, समाजमा भएका विकृतिहरुलाई पनि गीतसंगीतको मार्फतबाट उजागर गर्ने, विदेशमा बस्ने नयाँ पिँडीको नेपालीलाई पनि संस्कृतिको बारेमा जानकारी दिलाउने, अन्य देशका संगीतप्रेमीहरुमा पनि हाम्रो गीतसंगीतहरुलाई चिनाउने लगायतका मेरो व्यक्तिगत र संस्थागत योजनाहरु छन् ।
पछिल्लो समय गीतसंगीतहरुमा छाडा शब्दहरु च्यन गरेको धेरै पाइन्छ, नृत्यहरुमा पनि छाडापन बढेको छ, यसबारे तपाईको धारणा के छ ?
यसलाई रोक्न त्यति सजिलो मैले देखेको छैन । अब हामीहरु त आफ्ना गीतसंगीतहरुमा यस्ता शब्दहरुलाई समावेश गर्नुहुँदैन भन्ने मान्यता राख्छौं । एक दुई जना गर्दै सबैले यस्तो शब्दहरु राख्नुहुन्न भन्ने भाव पलायो भने रोक्न सजिलो हुन्छ । जसले पनि यस्ता विकृतिहरु सुरु गर्नुभएको छ, उहाँहरु आफै लज्जित भई त्यसपछिका गीत संगितहरुमा कम गर्नुभएको छ । यस्तो गर्न पाइँदैन भन्ने हामीसँग कानून पनि छैन् । आफैले जानेर, बुझेर गर्नुपर्ने हुन्छ ।
यसले समाजमा असर त पारेको छ नि ?
यसले असर त पार्छ समाजमा । तर, दर्शक श्रोताहरुले पनि यस्ता सिर्जनाहरु, त्यस्ता व्यक्तिहरुलाई पनि बहिष्कार गर्नुपर्छ जस्तो लाग्छ मलाई । दर्शकहरुले पनि विकृति फैलाउने, पारिवारिक माहोलमा नभिज्ने सिर्जनाहरुलाई बहिष्कार गर्नुपर्छ ।