तिलिचो ताल जोड्ने पदमार्ग निर्माण, पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने


प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार

मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ ।

घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।

गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण भएको हो ।

आर्थिक वर्ष २०८०।८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख खर्च गरेको छ ।

घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप २८ लाख ५८ हजार बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिनुभयो ।

एक्यापमार्फत ५ हजार १ सय २० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९ सय ५० मिटर पुरानो पदमार्ग मर्मत र ६ सय मिटर नयाँ पदमार्ग निर्माण गरिएको हो ।
जोमसोम–ठनी हुँदै बढीमा तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार ९ सय १९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग हो ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यू प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडाच्याङग्रा तथा चौँरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।

यसैगरी मुस्ताङमा यस वर्ष एक्यापको रु २७ लाख ३२ हजार पाँच सय नौ बजेटमा तिलिचो ताल जोड्नेसहित छ ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com