बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया


प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।

बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा प्रमिला गुप्ता र डा रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गर्नुभएको छ । डा प्रमिला र रोशन दिदी–भाइ हुनुहुन्छ ।

काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ डा प्रमिलाले भन्नुभयो ।

यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ उहाँले भन्नुभयो । डा प्रमिला आफैले आमाको शल्यक्रिया गर्नुभएको हो ।

डा रोशन सोही अस्पतालको एनेस्थिेसियामा हुनुहुन्छ । डा प्रमिला स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गर्नुभएको हो ।

गएको बुधबार आमाको शल्यक्रिया गर्नुभएपछि अहिले आमाले घरमा आराम गरिरहनु भएको डा प्रमिलाले बताउनुभयो ।

दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो ।

डा प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठानलगायतका स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिनुभएको छ । उहाँ पछिल्लो छ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत हुनुहुन्छ ।

उहाँ तुलसीपुर–५ का स्थायी निवासीसमेत हुनुहुन्छ । उहाँले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताउनुभयो ।

अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच/सातजना बिरामी आउने गरेका छन् । तर, तीमध्ये सरदर एक जना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com