पाकिस्तानमा गर्मीको कहर : १ लाख विद्यालय बन्द , पठनपाठनमा समस्या


प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गृष्मकालीन बिदा दुई सातासम्म लम्बिने भएको छ । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुनेछन् ।

जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । जलवायु परिवर्तनका कारण तातो लहर र धेरै पटक चल्ने लु चल्ने गर्छ र मनसुन भारी र लामो समयसम्म हुन्छ ।

नियोजित विद्युत् कटौती अर्थात लोडसेडिङ पाकिस्तानमा जारी विद्युत् आपूर्ति सङ्कटको बारम्बार कारण बन्दछ । लोडसेडिङ सहरअनुसार फरक फरक हुन्छ तर सिन्ध प्रान्तका ग्रामीण क्षेत्रमा यो दिनमा १२ घन्टासम्म हुँदा विद्यालयहरू पङ्खाबिना सञ्चालन हुनुपरेको छ ।

सरकारले २ करोड ६० लाखभन्दा धेरै बालबालिका गरिबीका करण विद्यालयबाहिर रहेको जनाएको छ । सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुनमा लुको सामना गर्नुपरेको थियो ।

मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन मे महिनामा गृष्मकालीन बिदा एक साताअघि सुरु गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घ बाल एजेन्सी युनिसेफका अनुसार दक्षिण एसियामा तीन चौथाईभन्दा धेरै अर्थात ४६ करोड बालबालिका प्रतिवर्ष कम्तीमा ८३ दिनका लागि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सम्पर्कमा रहन्छन् ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा एक प्रतिशतभन्दा पनि कम योगदान गरे पनि हालका वर्षहरूमा बदलिँदो मौसमी ढाँचाका कारण पाकिस्तानले गम्भीर मौसमसम्बन्धी प्रकोपहरू भोगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com