कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिमा औपचारिक उम्मेदवारी
प्रकाशित मिति : श्रावण १२, २०८१ शनिबार
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
‘अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको छु’, ह्यारिसले भन्नुभयो ।
हरेक मत प्राप्त गर्नका लागि कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ कमला ह्यारिसले आफ्नो पोस्टमा भन्नुभएको छ ।
नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ ।
यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गर्नुभएको थियो ।
ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न सक्दो सहयोग गर्ने बताउनुभयो ।
यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई “महान उपराष्ट्रपति“ को रुपमा सम्बोधन गर्नुभएको थियो ।