नवजात शिशु र बालबालिकाहरु हेपाटाइटिस सङ्क्रमणको उच्च जोखिममा


प्रकाशित मिति : श्रावण १२, २०८१ शनिबार

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ ।

हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीका अनुसार पछिल्लो समय यस क्षेत्रमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठुलो कारण बनेको छ ।

हेपाटाइटिस बी र सी सङ्क्रमणले यस क्षेत्रको लगभग ७५ प्रतिशत मानिसहरुको कलेजो फेल हुने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २०२२ मा यस क्षेत्रका ७० दशमलव ५ मिलियन मानिसले भाइरल हेपाटाइटिस बी र सी सङक्रमण सामना गरिरहेका थिए ।

विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रति दिन ३ हजार ५०० को मृत्यु हुने र प्रत्येक दिन ६ हजार हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन् ।

कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ । यद्यपी प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस बी र सी परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस सङ्क्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरु उच्च जोखिममा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com