गोरखामा पहिरोमा परी हाइड्रोका कामदार सहित चारजना बेपत्ता


प्रकाशित मिति : श्रावण १२, २०८१ शनिबार

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन । दुईजना घाइते भएका छन् ।

पहिरोले एउटा घर र गोठ बगाउँदा चारजना बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, पत्नी कान्छी गुरुङ र बुवा कान्छामान गुरुङ रहनु भएको छ ।

त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ पनि पहिरोमा बेपत्ता हुनुभएको छ । उहाँ हाइड्रोका कामदार हुनुुहुन्छ ।

पहिरोस्थल नजिकै वाटर इनर्जी हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ । सोही हाइड्रो पावरमा काम गर्ने मजदुरसहित नौ जना गएराति सो घरमा बास बसेका थिए ।

राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको हो । घरमा बास बसेका केही कामदारले भने भागेर ज्यान जोगाएका छन्।

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते हुनुभएको छ । बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com