हैजाको संक्रमण बढ्यो , पानी उमालेर मात्रै पिउन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार
देशभर हैजाका २२ जना बिरामी भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाका बिरामीको संख्या बढ्न थालेपछि पानी उमालेर पिउन आह्वान गरेको छ । मन्त्रालयले भनेको जुनसुकै श्रोतको भएपनि पानी उमालेर मात्रै पिउन आवश्यक छ ।
ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा संक्रमण यसअघि नै पुष्टि भइसकेको छ ।
बर्खायाममा पानीको स्रोतमा फोहोर मिसिने हुनाले हैजाको संक्रमण देखिने गरेको चिकित्सकको भनाईछ ।
‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित चौलानी पानीजस्तो पातलो दिसा आउने, वाकवाकी लाग्ने, बान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन् ।
हैजा संक्रमितको दिसा पिउने पानीको स्रोतमा पुग्यो भने महामारीको रूप लिन सक्ने भन्दै मन्त्रालयले सबैलाई सजगता अपनाउन आग्रह गरेको छ ।
हैजा अति संक्रामक तथा शीघ्र फैलने भएकाले मन्त्रालयले सजगता अपनाउन सचेत गराएको छ ।