अकबरेखेतीबाट वार्षिक ३ लाख आम्दानी , यो बर्ष १५ लाख पुर्याउने खड्गबहादुरको लक्ष्य


प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

इलाम जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ ।

वार्षिक उहाँले १५ लाख आर्जन गर्ने लक्ष्य बनाउनु भएको छ ।

मलेसियाको रोजगारीबाट फर्केर २ वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गर्नुभएका उद्यमी कार्कीले वार्षिक ३ लाख आम्दानी गर्दै आउनुभएको छ ।

गत वर्ष १ हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो कार्कीले भन्नुभयो । प्रतिकेजी २ सय ५० देखि ३ सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु कार्कीको भनाईछ ।

यो वर्ष उहाँले पाँच हजार बोट अकबरे रोप्नुभएको छ । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर ८ रोपनी क्षेत्रमा खेती विस्तार गर्नुभएको हो ।

उत्पादिन अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उहाँ बताउनुहुन्छ । सबै खर्च कटाएर वार्षिक १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु उहाँ भन्नुहुन्छ ।

उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।

सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो ।

उहाँले अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com