प्रधानमन्त्री निवासबाट प्रर्दशनकारीले लुटे शेख हसिनाको ‘सारीदेखि भित्रिवस्त्र’सम्म


प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार

बंगलादेशमा व्यापक हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य बनिन् । राजीनामा दिएपछि शेख हसिना सिधै भारत पुगिन्, जहाँ उनलाई सुरक्षित स्थानमा राखिएको छ । स्रोतका अनुसार बंगलादेशको सेनाले शेख हसिनालाई देश छोड्न ४५ मिनेट मात्र दिएको थियो ।

शेख हसिना आफ्नी बहिनी शेख रिहानासँग प्रधानमन्त्री निवासबाट निस्कँदा उनीसँग चारवटा सुटकेस मात्रै थिए । तर, शेख हसिनाले देश छोडेपछि प्रधानमन्त्री निवासमा विद्यार्थीहरुले उत्पात मच्चाए । प्रधानमन्त्री निवास भित्रका तस्विर र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् ।

शेख हसिनाको प्रस्थानको खबर सुनेपछि प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास गणभवनको गेटमा तोडफोड गरी भित्र पसे। सामाजिक सञ्जालमा भएका तस्बिरहरूमा प्रदर्शनकारीहरू घरभित्र देखिएका छन्। कोही प्रधानमन्त्रीको सुत्ने कोठामा ओछ्यानमा पल्टिए ।

केही प्रदर्शनकारी कार्यालयभित्रै टेबुलमा बसेर फोटो खिचेर फाइल फाले भने केही प्रदर्शनकारीले प्रधानमन्त्री निवास भित्रबाट सामान चोर्न थाले ।

प्रधानमन्त्री निवासभित्र पसेका प्रर्दशनकारीहरुले पंखा, कुर्सी, गद्दा, सोफा समेत खोसेर हिँडेको धेरै भिडियोहरु सार्वजनिक भएका छन् ।

कतिपयले प्रधानमन्त्री निवासभित्र पालिएका जनावर र माछासमेत लगेका थिए ।

बंगलादेशमा सन् २००९ देखि प्रधानमन्त्री शेख हसिना सत्तामा थिइन् । तर, गत महिना विद्यार्थीहरूले देशमा रोजगारीमा आरक्षणको विरोधमा आन्दोलन सुरु गरे, जसका कारण उनी देश नै छाड्न बाध्य भइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com