सुस्तामा बनेको नेपालकै लामो झोलुङ्गे पुलले आन्तरिक पर्यटकीय गतिविधि बढाउदै


प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार

नवलपरासी बर्दघाट‐सुस्ता–पश्चिम स्थित नारायणी नदीमा सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ ।

सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार २३ करोड ६५ लाख ९८ हजार ८ सयको लागतमा निर्माण भएको पुल १ हजार ५ सय ७१ मिटर लामो र १ मिटर ६० सेन्टिमिटर चौडा छ ।

सुस्ता‐५ का वडाध्यक्ष प्रभु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताउनुभयो । हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन् ।

यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो ।

यसअघि मधेस प्रदेशको सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल, धनुषा जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो भनिएको थियो ।

उक्त पुलको लम्बाइ १ हजार ५ सय दशमलव ४४ मिटर छ ।

पाल्हीनन्दन‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com