साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्वीरहरु)


प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार

पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन मन्दिर परिसरको भजनकीर्तनमा नृत्य प्रस्तुत गर्दै ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरको पूजा आराधना तथा दर्शन गर्न लामवद्ध भएका भक्तजन । 

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा सोमबार पूजा आराधना गर्दै भक्तजन ।
पशुपतिनाथ मन्दिर परिसरमा पूजा आराधना गर्दै भक्तजन । 
 साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्दै आएका भक्तजन पशुपतिनाथ मन्दिरमा आज पूजा आराधना गरेपछि पुरोहितलाई दान दक्षिणा गरी विधिपूर्वक व्रत समापन गर्दै । 

तस्बिरहरु : रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com