कैलालीका नदीमा डल्फिन देखिए , पर्यटकहरू अवलोकनका लागि पुग्न थाले


प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार

कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन । जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदि तटिय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठकानुसार उक्त पालिकामा पर्ने मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँ वयस्क, माउ डल्फिनसँगै बच्चा पनि देखिन थालेका छन् ।

श्रेष्ठले भन्नुभयो भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्छन् । यसरी तीन महिनाभन्दा बढि समयसम्म डल्फिन यहाँ बस्ने गर्छन् । मनसुन बाहिरिएसँगै डल्फिन पनि कर्णाली नदीमा नै फर्कने गरेका छन् ।

यी नदी क्षेत्रमा डल्फिनको मुख्य आहारा माछा, घोँगीका साथै लेऊ प्रशस्त पाइने भएकाले पनि हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका जानकारहरू बताउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र धेरै दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने गरेका संरक्षणकर्मी श्रेष्ठ बताउनुहुन्छ । यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ ।

यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको जानकारहरू बताउँछन् ।

डल्फिन देखिन थालेसँगै पर्यटकहरू अवलोकनका लागि दिनहुँजसो यस क्षेत्रमा पुग्न थालेका छन् । संरक्षणकर्मी भोजराज ढुङ्गाना हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै पर्यटकको चहलपहल बढ्ने गरेको बताउनुहुन्छ ।

उहाँकानुसार डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिकसमेत यहाँ आउने गरेका छन् ।

पर्यापर्यटनका दृष्टिकोणले महत्वपुर्ण मानिएको यस क्षेत्रमा डल्फिन संरक्षणका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ , सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी , तराई भूपरिधि कार्यक्रम ताल, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका छन् ।

साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले समेत संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवसमेत आयोजना भइसकेको छ ।

डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन, अनुसन्धानलाई जोड्न सकेमा पर्यापर्यटनका लागि अझ राम्रो हुने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुर बताउनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com