१ बर्षमा २४ हजार विदेशी पर्यटकले इलाम घुमे , पर्यटन व्यवसाय लयमा फर्किएपछि स्थानीय खुशी
प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०।८१ मा इलाम पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कनुसार आर्थिक बर्ष २०८०।८१ मा १ लाख ४१ हजार ५ सय १७ जना पर्यटक इलाम भित्रिएका छन् ।
गत साउन १ देखि असार मसान्तसम्म १ लाख १७ हजार ७ सय ४० आन्तरिक र २३ हजार ७ सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो ।
सबैभन्दा कम भदौमा ९ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार १ सय २३ जना पर्यटक इलाम घुम्न पुगेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
पर्यटन सूचना केन्द्रको तथ्याङ्कानुसार अघिल्लो आव २०७९।८० मा १ लाख ३३ हजार ४ सय ४५ पर्यटक भित्रिएका थिए ।
त्यसअघि आव २०७८ । ७९ मा १ लाख २९ हजार ५ सय ८१ पर्यटक इलाम घुम्न आएका थिए ।
इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।