अदालतको आदेशपछि थाइल्याण्डका प्रधानमन्त्री श्रेथा पदमुक्त


प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त हुनु भएको छ । थाइल्याण्डको संवेधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोगमा फैसला सुनाउदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ ।

अदालतको आदेशपछि अपदस्थ भएका प्रधानमन्त्री श्रेथा थाभिसिनले आफूलाई नैतिक नियम उल्लङ्घन गरेको कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताउनुभएको छ ।

फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे बुधबार भएको थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने हुनुभएको हो ।

यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको अभियोग लगाइएको हो ।

पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com