पर्यटनको बहानामा नेपाल आएर अपराध गर्दै विदेशी, १४३२ जना कारागारमा


प्रकाशित मिति : श्रावण ३२, २०८१ शुक्रबार

हामीलाई लाग्न सक्छ, विदेशी नागरिकहरु नेपालीका पर्यटकीय स्थलहरुमा घुम्न र समय बिताउन मात्र आउँछन् । तर होइन । नेपालमा केही विदेशी नागरिकहरु अपराध गर्नका लागि पनि आउने गरेका छन् । नेपाललाई केन्द्रबिन्दु वा ट्रान्जिट प्वाइन्ट बनाएर अपराधिक क्रियाकलाप गर्ने विदेशी नागरिकको संख्या उल्लेख्य छ ।

पछिल्लो समय नेपाल विदेशी नागरिकहरुले अपराध गर्ने अखडा बन्न थालेको हो । नेपाल पर्यटकीय हिसाबले महत्वपूर्ण देश मानिएको कारणले पनि विदेशीहरु नेपालमा आउने र आपराधिक क्रियाकलाप संलग्न हुने गरेका हुन् ।नेपाल र भारतबीचको खुल्ला सीमानाको कारणले पनि नेपालमा आपराधिक घटनाहरुमा विदेशीहरुको संलग्नता देखिने गरेको हो । अहिले नेपालका विभिन्न कारागारमा एक हजार ४३२ जना विदेशीहरुले सजाय काटिरहेका छन् ।

कुन देशका कति ?

कारागार व्यवस्थापन विभागका अनुसार नेपाललाई ट्रान्जिट बनाएर अपराधमा संलग्न एक हजार चार सय ३२ जना विदेशी नागरिकहरूले नेपालका कारागारमा सजाय भोगिरहेका छन् । यसरी कारागारमा सजाय भोगिरहेका मध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन् । नेपाली कारागारमा भारतीय नागरिकमात्रै १ हजार ३५५ जना छन् । यस्तै, भुटानी नागरिक ३१ जना, चिनियाँ नागरिक ८ जना, पाकिस्तानी नागरिक ३ जना, क्यानडियन नागरिक २ जना छन् । त्यस्तै, अमेरिकन, सर्बिया, जर्मन, बंगलादेश र जाम्बियनका १–१ जना छन् भने भारतीय, बोलिबिया र वर्मा (कुन देशका कति भन्ने नखुलेको) का गरी २८ जनाले पनि नेपाली कारागारमै सजाय भोगिरहेका छन् ।

कहाँ काट्दैछन् सजाय ?

नेपालमा अपराधिक क्रियाकलापमा संलग्न भई पक्राउ परेकाहरु देशका विभिन्न प्रदेशका विभिन्न जिल्लाका कारागारहरुमा सजाई काटिरहेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लाका कारागारहरुमा दुई सय ५५, मधेश प्रदेशमा तीन सय ७, बागमती प्रदेशमा पाँच सय ५४, गण्डकी प्रदेशमा २१, लुम्बिनी प्रदेशमा दुई सय ३६, कर्णाली प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा ५३ जना विदेशी नागरिकले जेल जीवन बिताईरहेको विभागले जनाएको छ ।

अपराध बढ्नुको प्रमुख कारण

नेपालमा विभिन्न बाहानामा आउने र कतिपयले नेपालमै व्यवसाय सुरु गर्ने र केहीले गैरकानून काम गर्ने गरेको नेपाल प्रहरीको बुझाई छ । नेपाल भारतबीचको खुल्ला सीमानाले पनि नेपालमा हुने अपराधलाई बढाएको छ । नेपालमा अपराध गरेर भारतमा भाग्न सजिलो हुने गरेकोले पनि अपराधमा विदेशीहरुको हात बढ्ने गरेको प्रहरीको बुझाई छ ।

प्रहरीका अनुसार विदेशीहरु नेपालमा ज्यानमार्ने उद्योग, भन्सार छली, ठगी, अवैध मुद्रा, अभद्र व्यवहार, लागुऔषध कारोबार, जबरजस्ती करणी, अपहरण, चोरी, अनलाइन ठगि र भीषा सम्बन्धी गतिविधिमा संग्लन हुने गरेका छन् ।

नेपालमा विदेशी नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र फितलो अध्यागमन नीति समेत रहेको अपराधशास्त्रीहरु बताउँछन् । भिसामा खुकुलो, कमजोर अनुगमन भएको कारण विदेशीहरूको अपराधमा संलग्नता बढेको उनीहरुको बुझाई छ ।

विमानस्थल र सिमाक्षेत्रको अवस्था

भारतसँगको खुला सिमाना र काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण नेपाललाई अपराधीहरुले ट्रान्जिट वा स्टेजिङ प्वाइन्टका रुपमा प्रयोग गरेको र गर्नसक्ने हालैको अमेरिकी रिपोर्टमा समेत उल्लेख गरिएको थियो । नेपालमा विमानस्थल सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त भएकोमा रिपोर्टमा जोड दिइएको थियो ।

नेपालको विमानस्थलमा सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त रहेको तथा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई प्रिस्क्रिन नगर्ने र अवतरण डाटा कुनै पनि डाटावेशमा प्रविष्ट नगरिने रिपोर्टमा उल्लेख थियो । कुनै ट्राभल डकुमेन्ट सेक्युरिटी छैन भने कागजातहरू जाँच गर्न एयरपोर्टमा अल्ट्राभायोलेट लाइटहरुको अभाव रहेको रिपोर्टमा उल्लेख थियो । इन्टरपोल कार्यालयबाट त्रिभुवन अन्तर्रा्षिष्ट्रय विमानस्थलमा कुनै कर्मचारी राखिएको छैन । इन्टरपोलका सुचनाहरु डाटावेशमा त राखिएको छ तर यात्रुहरूको यस डाटाबेस मार्फत नियमित रूपमा जाँच गरिँदैन ।

नेपालको भारतसँग खुला सिमाना छ । सिमाको १ हजार माइलमा केही चेकपोस्टहरू छन् तर यिनीहरूमा पर्याप्त सुरक्षा नियन्त्रणहरू छैनन् । कहिलेकाहीँ एक जना मात्रै अध्यागमन अधिकारी हुन्छन् । सीमा पार गर्ने अधिकांश मानिसलाई न त रोकिन्छ न त जाँच गरिन्छ । क्रसिङ बिन्दुहरू जाँचबाट बच्नको लागि सजिलैसँग छल्न सकिन्छ।

प्रभावकारी सीमा नियन्त्रण क्षमता हुन नसक्नुको मुख्य कारण स्रोतको अभाव हो । सिमा थप बलियो बनाउन राजनीतिक इच्छाशक्तिको कमी छ । प्रभावकारी सीमा नियन्त्रण प्रदान गर्न सुरक्षा सेवाहरूमा कर्मचारी, प्रविधि, डाटाबेस, आधारभूत उपकरण र विद्युतको समेत अभाव छ । प्रशिक्षणको अभाव र व्यापक भ्रष्टाचारका कारण सिमा सुरक्षामा थप वाधा रहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com