छोरी प्रधानमन्त्री बनेपछि थाइल्यान्डका राजाद्वारा बुबालाई आममाफी


प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार

थाइल्यान्डका राजाद्वारा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिइएको छ ।

राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुनुहुन्छ ।

थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै १ वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

राजा वजिरालोङकोर्नले उहाँको सजाय कटौती गरी १ वर्षमा सिमित गरिदिनुभएको थियो । उमेर र खराब स्वास्थ्यको कारण उहाँलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल)मा रिहा गरिएको थियो ।

थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुई पटक प्रधानमन्त्री भइसकेका थाक्सिन पनि रहेको बताउनुभयो ।

शनिबार प्रकाशित शाही राजपत्रमा भनिएको छ, राजाले ती माफी पाएका सबैजनालाई आफूलाई सुधार्ने र देशलाई फाइदा पुर्याउने अवसर दिनुभएको छ ।

राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा आफ्नो ७२ औं जन्मदिन मनाएको करिब १ महिनापछि असल आचरण भएका कैदीहरूलाई माफी दिइएको हो ।

यसअघिको शाही आदेश अनुसार पूर्वप्रधानमन्त्री सिनावात्रा ३१ अगस्टमा रिहा हुनुपर्ने थियो ।

थाई संसद्ले शुक्रबार थाक्सिनकी ३७ वर्षीया छोरी पाएटोङ्तार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो ।

उहाँ राज्यको सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुहुन्छ र आफ्ना बुबा र फुपु यिङलकपछि यो पद सम्हाल्ने सिनावात्रा परिवारका तेस्रो सदस्य हुनुहुन्छ ।

राज्यको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पाएटोङ्तार्नलाई प्रधानमन्त्री बनाइएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com