मालपोत र नापी कार्यालयका अभिलेख संरक्षणमा समस्या
प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत एवं नापी कार्यालयका अभिलेखलाई चुस्तदुरुस्त र वैज्ञानिक बनाउने भएको छ ।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्रालय अन्तर्गतका मालपोत र नापी कार्यालयका अभिलेखलाई सूचना प्रविधिमा आधारित भएर एकभन्दा बढी स्थानमा अभिलेख भण्डारण गरी सुरक्षित गर्न लागिएको जानकारी गराइएको हो ।
बैठकमा मन्त्री बलराम अधिकारीले महत्वपूर्ण अभिलेख संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।
देशभर रहेका १३२ मालपोत र नापी कार्यालयका लागि जनशक्तिको कमी भएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ४१ जना कर्मचारी माग गरिएको जानकारी पनि बैठकमा गराइएको थियो ।
बैठकमा समिति सभापति कुसुमदेवी थापाले मालपोत र नापीका अभिलेखका बारेमा धेरै गुनासो आउने गरेकाले यसको संरक्षण गर्न आवश्यक काम गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।
सांसद बीरबहादुर बलायरले मालपोत र नापी कार्यालयका बारेमा आइरहने गुनासो कम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले देशभरका अधिकांश मालपोत र नापी कार्यालय भाडाका घरमा सञ्चालन गर्नुपर्ने भएकाले अभिलेख संरक्षणलगायत काममा समस्या हुने गरेको स्वीकार गर्नुभएको थियो ।