युवा बाल-साहित्यकार तथा रङ्गकर्मी श्रेष्ठलाई यस वर्षको मोती पुरस्कार


प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा बाल-साहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ।

राष्ट्रिय युवा सेवा कोषले २०८१ सालको युवा वर्ष मोती पुरस्कार युवा बालसाहित्यकार तथा रङ्गकर्मी श्रेष्ठलाई प्रदान गर्ने भएको हो ।

वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार २०८१ सालको पुरस्कार सर्जक श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको कोषले जनाएको छ ।

उक्त पुरस्कारको राशि ४० हजार रहेको छ ।

धादिङका श्रेष्ठलाई बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको हो ।

युवा बाल-साहित्यकार तथा रङ्गकर्मी श्रेष्ठ कथा लेखन, बालनाटक, चलचित्र लेखन तथा निर्देशनमा सक्रिय हुनुहुन्छ । उहाँका गुलियो स्याउ, आइसक्रिम सपना लगायतका बालपुस्तकहरु बालसाहित्य क्षेत्रमा चर्चित छन् ।

‘युवा वर्ष मोती पुरस्कार’ राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा वि.सं. २०४२ सालमा स्थापना गरिएको थियो । ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहितको पुरस्कार हरेक वर्षको मोती जयन्ती कुशे औंसीको दिन प्रदान गरिन्छ ।

यस पुरस्कारलाई नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कारको रुपमा पनि लिइन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com