अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा फसे, सबै सकुशल


प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।

दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ । सङ्गठित रुपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ । कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।

“यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ”, विज्ञप्तिमा उल्लेख छ, “अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।”

मानव तस्करको सञ्जाल प्रयोगगरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन दूतावासले अनुरोध गरेको छ ।

एकसाता अगाडि कम्तीमा ५० जना नेपालीहरु यसरी विनाभिसा ब्राजिल प्रवेश गर्नखोज्दा रोकिएको जानकारी प्राप्त भएको र अहिले उक्त संख्या बढेको नेपाली राजदूत निर्मलराज काफ्लेले खसोखासलाई जानकारी दिएका छन् ।

उनीहरु तेश्रो मुलुकलाई गन्तव्य बनाई ब्राजिललाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका हुन् । नेपालीहरुले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेश्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विनाभिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन् । पहिलेदेखि नै यो क्रम रहेको र अहिले संख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । राजदूत काफ्लेले ब्राजिलको भिसा नलिई ब्राजिललाई ट्रान्जिट बनाएर बाहिर निस्कने उद्देश्यले नआउन नेपालीहरुलाई सचेत गराएका छन् ।

अहिले ब्राजिलको साओ पाउलो विमानस्थलमा रोकिएका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले नै हेरचाह गरिरहेको जनाइएको छ । विमानस्थलमा रोकिएका कसैलेपनि दूतावासमा सम्पर्क नगरेको तर दूतावासले यसबारे ब्राजिलका विभिन्न निकायबाट जानकारी प्राप्त गरिरहेको राजदूतले बताएका छन् । ब्राजिलमा रोकिएका नेपालीहरु फरकफरक समयमा फरकफरक एयरलाएइन्समार्फत आएको जनाइएको छ । उनीहरुमध्ये अधिकांश टर्की, दुबईबाट, दोहाबाट टर्किस, इमिरेट्स र कतार एयरलाइन्समार्फत ब्राजिल पुगेको जनाइएको छ ।

अहिले ६ सय जनाभन्दा बढी विना भिसा पुगेका आप्रवासीहरु ग्वारुल्होस एयरपोर्टमा ब्राजिल प्रवेश गर्न पर्खिरहेको जनाइएको छ । ब्राजिलको सरकारले सोमबारदेखि अमेरिका र क्यानडा पुग्नको लागि ब्राजिल प्रयोग गर्ने आप्रवासीहरुको प्रवाहलाई रोक्न नियमहरू कडा बनाएकाले उनीहरुको अवस्था के हुने भन्ने निश्चित छैन ।

सोमबारदेखि ब्राजिलले भिसा नभएका अर्को देश जाने विदेशी यात्रीहरू सीधा आफ्नो गन्तव्यमा जानुपर्ने वा आफ्नो देश फर्कनु पर्ने नियम बनाइएको छ । एसियाबाट उत्तर अमेरिका जाने यात्रुहरु ब्राजिलमा ट्रान्जिट पारेर बाहिर निस्कने र अमेरिका तथा क्यानडातिर लाग्ने समस्याका कारण यो नियम ल्याइएको हो ।

ट्रान्जिटमा पुगेपछि ब्राजिलमा प्रवेश गर्न उनीहरुले शरण माग्ने गर्छन् । उनीहरूले आफ्नो देशमा धम्की र सतावट भएको बताउदै शरण माग्नेहरु त्यहाँबाट अमेरिकातिर प्रवेश गर्छन् । अब भिसा बिना साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न अनुमति नदिइने सरकारी अधिकारीहरुले बताएका छन् ।

त्यहाँ पुगेका नेपालीहरु दलाललाई मोटो रकम बुझाएर उक्त बाटो हुँदै विनाभिसा अमेरिका आउन खोज्नेहरु हुन् । बोलिभियामा नेपालीलाई अन अराइएभल भिसा दिने भएकाले एजेन्टहरूले नेपालीलाई ब्राजिलबाट बोलिभिया छिराउने गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेका एक हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेको जनाइएको छ । मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै उनीहरूलाई तस्करले ब्राजिल, चिली, बोलिभिया, इक्वेडर, कोस्टारिका लगायत ल्याटिन अमेरिकी मुलुकमा अलपत्र पारेका हुन्।

तस्करहरूले ब्राजिलबाट विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रति व्यक्ति २२ लाख रुपैयाँसम्म लिने गरेको अलपत्र परेकाहरूले बताउँदै आएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com