टेक्सासमा २१ बर्षीय मुना पाण्डेको गोली हानी हत्या गर्ने संदिग्धको फोटो सार्वजनिक


प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने संदिग्धको फोटो प्रहरीले सार्वजनिक गरेको छ । तर संदिग्धको थप पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।

सीटीटिभी फुटेजबाट लिइएको फोटो अनुशार संदिग्ध व्यक्ति अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटमा त्यहाँ पुगेको देखाइएको छ । संदीग्धलाई प्रहरीले पक्राउ गर्न सकेको छैन भने अवस्थीतिबारे पनि थाहा नभएको प्रहरीले जनाएको छ । संदीग्ध व्यक्ति मुनाको प्रेम सम्बन्ध रहेको भनिएका अमेरिकी युवक भने होइनन् ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले खसोखासलाई जानकारी दिएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको र अहिलेसम्म घटनासँग सम्बन्धित कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाई छ ।

यसैबीच ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

ह्यारिस काउन्टी इन्स्टिच्युट अफ फोरेन्सिक साइन्सको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस मामलामा संदीग्धबारे जानकारी भएका जो कोहीलाई ७१३ ३०८ ३६०० मा ह्युस्ट प्रहरीमा सम्पर्क गर्न वा ७१३ २२२ ८४७७ मा क्राइम स्टपर्ससँग अज्ञात रूपमा कुरा गर्न आग्रह गरिएको छ।

उनी परिवारमा एकमात्र सन्तान रहेको जनाइएको छ । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ । घटनाको उद्देश्य के थियो भन्नेबारे पनि केही जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com