भागेर भारत गएका विष्णुमा फर्किएको पढाइको रहर, ७ वर्ष अस्थायी जागिरपछि सरकारी शिक्षक
प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार
नेपाली एउटा भनाइ छ, ‘सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।’ यो भनाइ ठ्याक्कै लागुहुन्छ, एक शिक्षक विष्णु प्रसाद पोख्रेलको जीवनमा । एउटा क्षण, जसको कारण उनको जीवन नै फेरियो । अर्घाखाँचीको साविक निगाली (हालको पाणिनी गाउँपालिका– ४) मा जन्मिएका विष्णुप्रसाद पोख्रेलले गाउँकै विद्यालयमा कक्षा १० सम्मको अध्ययन गरे । ग्रामीण भेग र समयमै किताब पाउन मुस्किल पर्ने समयमा पनि आफुभन्दा सिनियरहरुले पढेका पुराना किताबहरुको खोजी गर्दै/पढ्दै कक्षा १० उत्तिर्ण गरे ।
त्यति बेला, अधिकांश गाउँका युवा तथा परिवारका अभिभावकहरु नेपालबाट रोजगारीको लागि छिमेकी मुलुक भारत धाउने गर्थे । कक्षा १० को पढाई सकेपछि विष्णुको मनमा पनि भारत जाने इच्छा जाग्यो । साथीभाइहरुको संगतमा लागेर उनी पनि भारत छिरे । सानो उमेरमै घरबाट भारत भागेका उनलाई ठूलो शहरमा आफु कहाँ बस्ने ? के गर्ने ? पत्तो थिएन । नेपालीहरु कोही घरमा त कोही होटलमा काम गर्नका लागि भारत जाने गर्थे । विष्णु पनि भारतकै एकघरमा काम गर्न थाले ।
सानो उमेर र भाषा पनि राम्ररी नबुुझ्ने विष्णुले कामको शिलशिलामा उक्त घरका छोरीछोरीहरुको किताब देख्ने गर्थे । सानैदेखि गणित विषयमा रुची राख्ने विष्णुले अंग्रेजीमा लेखिएका गणितका हिसाबहरु देखें । उनले खाली समयमा त्यहीँ भएका कापीहरुलाई बटुल्दैँ ती गणितका हिसाबहरु गर्न थाले । हिसाबहरुको उत्तर सही निस्किदैँ गएको देखेपछि उक्त घरका मालिकहरुले पनि विष्णुलाई गर्ने व्यवहारमा फरक पर्न थाल्यो ।
त्यसपछि भागेर भारत पसेका विष्णुलाई पुनः गाउँमै गएर पढाइलाई निरन्तरता दिने रहर पलायो । मध्यम वर्गीय परिवारमा जन्मिएका विष्णुलाई गाउँमै दुःख गरेर पढ्ने अठोट जाग्यो । तर, दुर्भाग्यबस ! ११ कक्षाको भर्ना सकिएको थियो । ‘त्यो घटनाले म मा परिवर्तन ल्याइदियो’ – विगत सम्झिँदै विष्णुले भने ।
एक वर्षपछि विष्णु पुनः गाउँकै फर्किएर कक्षा ११ मा भर्ना भए । स्कुल नजिक थिएन् । दैनिकी ३ घण्टा बढी हिडेँर स्कुल पुग्नुपर्ने बाध्यता थियो । जंगलको बाटो, कहिले आरालो त कहिले उकालो गर्दै जाउँ–आउँ समय मात्रै ६ घण्टा बढी लाग्थ्यो ।
भारतको त्यो क्षणले विष्णुलाई सधैं पढाईमा प्रेरित गर्यो । उनले स्नातक तह सक्काएर पनि स्नाकोत्तर तहमा समेत भर्ना भए । गाउँमा त्यति बेलामा लोक सेवा/शिक्षक सेवा भन्नेतर्फ कसैको ध्यान जादैँनथ्यो । कैयौंलाई यसबारे जानकारी पनि थिएन ।
विष्णु भन्छन् – ‘अहिले जस्तो विद्यार्थीहरुको उद्धेश्य, लक्ष्य त्यति बेला हुँदैनथ्यो । स्कुल/कलेज आउने जाने, किताबको मात्रै कोर्स पढ्ने हुन्थ्यों । शिक्षकहरुले पनि विद्यार्थीहरुलाई गाइड गर्ने काम गर्दैन्थें ।’
विष्णु स्नाकोत्तरको पढाई सुरु बुटवल झरे । जब विष्णुले स्नाकोत्तरको पढाईको पढाई सुरु गरे, तब उनको भेट गुल्मी जिल्लाका साथीहरुसँग भयो । गुल्मीका विद्यार्थी साथीहरुबाटै उनले लोक सेवा/शिक्षक सेवासम्बन्धि जानकारी पाए । ‘मास्टर्स/डिग्रीमा आएपछि मात्रै सरकारी जागिर भनेको यो हो ? भन्ने जानकारी पाए ।’ – विष्णुले भने ।
स्नाकोत्तरको पढाई सकेपछि उनले २०७० सालदेखि प्लस टुका विद्यार्थीहरुलाई अध्यापन गराउन थाले । सुरुमा निजी स्रोतको कोटामा जागिर पाएका उनले राहत, दरबन्दीमा पनि अध्यापनलाई निरन्तरता दिए । जब आफुले पढाएका विद्यार्थीहरु धेरै नम्बर ल्याएर पास हुन्थें, तब विष्णुका आँखाबाट हर्षका आशु खस्थें । त्यो क्षण सम्झिँदै विष्णुले भने– ‘आफुले पढाएका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदा बढो आनन्द आउँदो रहेछ ।’
अध्यापन गराउँदै जाँदा विष्णुलाई एकातिर विद्यार्थीको नतिजाले आनन्दले दिलाइरहेको थियो भने अर्कोतिर अस्थायी जागिरले पीडा पनि दिइरहेको थियो । उनले खुशी र पीडा दुबैमा झिज्ने मौका पाए । ७ वर्ष अस्थायी शिक्षकको रुपमा अध्यापन गराएपछि बल्ल उनलाई सरकारी सेवामा छिर्ने रहर पलायो । सुरुका केही वर्ष यत्तिकै बिते । परिवार, जागिर लगायतले गर्दा न त लोक सेवामा नाम निकाल्न सफल भए, न त शिक्षण सेवामै ।
शान्त र मलिन स्वभावका विष्णुप्रति विद्यार्थीहरु पनि छिट्टै झुम्मिन्थें । उनले पनि विद्यार्थीहरुलाई साथीभाईको व्यवहार गर्थे । विष्णु भन्छन् – ‘विद्यार्थीहरुसँग जति नजिकको सुमधुर भयो, उती नै एकले अर्कालाई बुझ्न सजिलो हुन्छ । शिक्षक र विद्यार्थीबीच सुमधुर सम्बन्ध भएपछि विद्यार्थीहरुमा पनि उत्प्रेरणा जाग्दो रहेछ । मैले पढ्नुपर्छ भन्ने भाव सिर्जना हुँदो रहेछ ।’
स्नाकोत्तरको पढाईपछि मात्रै सरकारी सेवाको जानकारी पाएका विष्णुलाई सरकारी जागिरमा नाम निकाल्न सहज थिएन । न त अहिले जस्तो पढाइको सुविधा थियो, न त पाठयक्रम नै उपलब्ध हुन्थ्यों । पाठयक्रमहरु पनि काठमाडौंमै मात्र पाइन्थ्यों भन्ने त सुनेका थिए विष्णुले तर, काठमाडौं मै बसेर पढ्न सक्ने अवस्था थिएन ।
बल्लतल्ल केही पाठयक्रम जुटाएर पुनः सुरुबाट नै शिक्षक सेवाको तयारीमा लागे । विगतका कमी कमजोरीलाई समिक्षा गर्दै तयारी थाले । निरन्तर रुपमै शिक्षक सेवाको तयारीमा लागिरहेँ । उनलाई कर्मचारी सञ्चय कोष, पेन्सन लगायतका कुराहरुले पनि सरकारी सेवाप्रति झनै लोभ्यायो । लामो मिहिनेत र अठोट लक्ष्यका साथ अन्ततः सरकारी सेवामा प्रवेश गरे । ‘धैर्यता, मिहनेत र निरन्तरता नै ठूलो कुरा रहेछ ।’ – उनी भन्छन् ।
बजारले हेर्ने नजरले नै फेरिएपछि…
विष्णुले स्नातक तह पास गरेपछि सुरुमा एक मल्टिनेशनल कम्पनीमा मार्केटिङको रुपमा काम सुरु गरेका थिए । मार्केटिङको काम गरिसकेपछि उनलाई बजारमा जानुपर्ने बाध्यता नै थियो । मार्केटिङको काम गर्दै गर्दा उनले आफुलाई बजारले हेर्ने नजर नै पाए । स्नातक पास गरिसकेको आफुलाई बजारले हेर्ने नजर नै ठिक नलागेपछि उनलाई पढाइ अनुसारकै कामले तान्यो । विष्णु भन्छन् – ‘सामान्य रुपमा मार्केटिङ गर्ने मान्छे झोला बोकेर जानुपर्ने परिपाटी थियो । बजारले जति सुकैपढेपनि त्यो नबुझ्दो रैछ । जो पनि यत्तिकै मार्केटिङमा हिड्छन् भन्ने सोच्दा रहेछन् । झोला बोकेर हिडेँपछि यो नपढेकै हो भन्ने जस्तो भान भयो । त्यसपछि मलाई मेरो यो क्षेत्र रहेनछ जस्तो लाग्यो ।’
‘विदेशलाई अन्तिम विकल्पको रुपमा राखेँ’
शिक्षण पेशा गर्दा गर्दै नै विद्यार्थीहरुको मायाले नै तान्यो विष्णुलाई । उनी पढाउँदै गर्दा विद्यार्थीसँग घुलमिल भए । जसले उनलाई शिक्षण पेशा बाहेक अन्त जान मन लागेन् । उनले विदेशलाई प्राथमिकतामा राखेनन् । नेपालमै संघर्ष गर्ने र केही विकल्प नभए मात्र विदेश जान्छु भन्ने उनको मनमा लाग्यो । ‘अन्तिम केही विकल्प सोचौँला । गरेर हुन्छ भने पहिले यही गरौं न भन्ने मनमा पलायो ।’ – विष्णु भन्छन् ।
विष्णुले पढाएका सयौं विद्यार्थीहरु सरकारी सेवामा आबद्ध छन् । सयौंको संख्यामा विद्यार्थीहरु कोही शिक्षक, कोही निजामति क्षेत्र, कोही प्रहरी त कोही स्वास्थ्य सेवामा आबद्ध छन् ।
शिक्षक सेवाको तयारी कसरी गर्ने ?
सूचना, सञ्चारका प्रविधिको विकासक्रमले पठनपाठनमा सजिलो भएको विष्णु बताउँछन् । शिक्षक सेवामार्फत सरकारी क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीमा इच्छाशक्ति नै महत्वपूर्ण रहेको उनको भनाइ छ ।
शिक्षक सेवाको तयारी गरिरहेका विद्यार्थीले उपलब्ध पाठयक्रम हेर्ने, त्यसबाट नोट बनाउने, नबुझेका कुराहरु सोध्ने गर्नुपर्ने उनको सुझाव छ । विष्णुले पाठकक्रममा भएका बेसिक कुराहरुलाई जानेर दोस्रो चरणका बजारमा उपलब्ध भएका कुराहरु सिक्न विद्यार्थीलाई सुझाब दिन्छन् ।
(विष्णु हाल स्याङजाको वालिङ नगरपालिका – ३ मा स्थित माझकोट माध्यमिक विद्यालयमा आबद्ध छन् । उनले इ-टुटरक्लस मार्फत पनि विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छन् ।)