दक्षिण अफ्रिकामा हत्या दर विश्वमा सबैभन्दा धेरै : तीन महिनामा छ हजार मारिए


प्रकाशित मिति : भाद्र १५, २०८१ शनिबार

दक्षिण अफ्रिकामा अप्रिलदेखि जुनको बीचमा करिब छ हजार दुई सय व्यक्तिको हत्या भएको छ । प्रहरीमन्त्री सेन्जो म्याकचुनुले तीन महिनामा छ हजार एक सय ९८ व्यक्तिको हत्या भएको जानकारी दिनुभयो ।

यो आँकडा एक वर्षअघिको समान अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो ।

दक्षिण अफ्रिकामा शान्तिकालमा प्रतिव्यक्ति हत्या दर विश्वमा सबैभन्दा धेरै छ । महिला र बालबालिकामाथि हुने यौन आक्रमणका लागि कुख्यात मुलुक दक्षिण अफ्रिकामा बलात्कारका घटनाहरू गत वर्षको यही तीन महिनाको अवधिको तुलनामा शून्य दशमलव छ प्रतिशतले बढेका छन् ।

अप्रिलदेखि जुनको बीचमा मुलुकमा कूल नौ हजार तीन सय नौ बलात्कारका घटना दर्ता गरिएका छन् । यस अवधिमा प्रहरी कारवाहीमा ४४ हजार सात सय ३५ लागुऔषधसँग सम्बन्धित अपराध फेला परेको प्रहरीले बताएको छ ।

जोहानेसबर्गको उत्तरमा दुर्गम खेतमा लुकाइएको करोडौँ डलरको क्रिस्टल मेथ प्रयोगशालामा छापा मार्दा गत महिना तीन मेक्सिकाली र दुई दक्षिण अफ्रिकी पक्राउ परेका थिए ।

अर्को छुट्टै घटनामा प्रहरीले २५ करोड २० लाख र्यान्ड (करिब एक करोड ४० लाख डलर ) मूल्यको कोकिनका इँटा भरिएका १४ वटा झोला बरामद गरेपछि एक रुसीलाई दक्षिण अफ्रिकीसँगै पक्राउ गरिएको थियो ।

मे महिनाको निर्वाचनपछि आफ्नो अफ्रिकी नेसनल कांग्रेसले मध्यमार्गी डेमोक्रेटिक गठबन्धन र अन्य साना दलहरूसँग असहज गठबन्धन गर्न बाध्य राष्ट्रपति सिरिल रामफोसाको नयाँ गठबन्धन सरकारसामु अपराध प्रमुख मुद्दा बनेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com