आठ महिनामा ५ हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरे


प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार

सन् २०२४ को ८ महिनामा ७ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म ७ लाख २० हजार ३ सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन ८ दशमलव ३ प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताउनुभयो ।

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट ६ हजार छ सय १४, अमेरिकाबाट ५ हजार छ सय १४, श्रीलङ्काबाट ४ हजार आठ सय ५१ र बङ्गलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ को अगस्तमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कुन महिनामा कति पर्यटक मार्च महिनामा सबैभन्दा बढी १ लाख ११ हजार तीन सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ ।

पर्यटन बोर्डबाट १ सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com