मस्कको नेतृत्वमा सरकारी दक्षता आयोग गठन गर्ने ट्रम्पको वाचा


प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा पुनः विजयी भएमा उद्यमी एलोन मस्कको नेतृत्वमा “सरकारी दक्षता“ आयोग गठन गर्ने वाचा गर्नुभएको छ ।

बिहीबार न्युयोर्क इकोनोमिक क्लबमा चुनावी भाषणमा ट्रम्पले आफ्नो आर्थिक दृष्टिकोण राख्दै मस्कलाई आयोगको प्रमुख बनाउने बाचा गर्नुभएको हो ।

क्रिप्टोकरेन्सी अँगाल्ने र मस्कको नेतृत्वमा आयोग बनाउने योजनाहरू नयाँ हुन । उहाँले सरकार गठन भएको छ महिना भित्रमा “ठगी र अनुचित भुक्तानी“ हटाउने प्रतिबद्दता जनाउनु भयो ।

सम्पूर्ण संघीय सरकारको पूर्ण वित्तीय र कार्यसम्पादन लेखा परीक्षण गर्ने र कठोर सुधारका लागि सिफारिस गर्ने जिम्मा दिने गरी सरकारी दक्षता आयोग बनाउने सो अबसरमा ट्रम्पले बताउनु भयो ।

अमेरिकी सरकारसँग पहिले नै गैर–पक्षीय सरकारी एकाउन्टेबिलिटी अफिस (GAO), संघीय खर्च र कार्यसम्पादनको छानबिन गर्ने संघीय वाचडग एजेन्सी छ । ट्रम्पले प्रस्तावित नयाँ आयोग कसरी सञ्चालन हुनेछ भन्ने बारेमा भने विस्तृत विवरण दिनुभएको छैन ।

ट्रम्पले नोभेम्बर छ को चुनाव जित्ने हो भने उहाँले दिएको पद स्वीकार गर्ने मस्कले X मा लेख्नुभएको छ । उहाँले यसअघि अगस्टमा पोडकास्टमा ट्रम्पसँग आयोगको बारेमा छलफल गरेको बताउनु भयो ।

सन् २०२२ मा ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल कम्पनी X किनेका मस्कले भन्नुभएको छ अवसर आयो भने म अमेरिकाको सेवा गर्न तत्पर छु ।

मस्कले जुलाईमा रिपब्लिकन नेता ट्रम्पको हत्या प्रयास भएपछि राष्ट्रपतिको लागि ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com