क्यानाडाले विश्व व्यापार सङ्गठनको नियमलाई बेवास्ता गरेको चीनको आरोप


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

क्यानाडाले लगाएको अतिरिक्त करबारे छानविन गर्न डब्लुटीओसँग चीनले आग्रह गरेको छ ।

चिनियाँ विद्युतीय सवारी साधन, स्टिल र आल्मुनियमको आयातमा क्यानाडाको नयाँ प्रतिबन्धबारे प्रतिक्रिया दिँदै बेइजिङले यस्तो आग्रह गरेको हो ।

विश्व व्यापार सङ्गठन डब्लुटीओ मा गरिएको कानुनी प्रतिवद्धताको पालना गर्न ओटावालाई आग्रह गरिएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत महिना चिनियाँ विद्युतीय सवारीसाधनमा शतप्रतिशत र चिनियाँ स्टिल तथा आल्मुनियम उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो ।

चीनले यो कदमलाई अनुचित भन्दै आलोचना गरेको छ । यसै हप्ता आयातित क्यानेडाली क्यानोला र रासायनिक उत्पादनहरूमा एन्टी–डम्पिङ अनुसन्धानको शुरूवात गरेको छ ।

क्यानाडाले विश्व व्यापार सङ्गठनको नियमलाई बेवास्ता गरेको र सङ्गठनमा आफ्नो प्रतिबद्धतालाई उल्लङ्घन गरेको चीनले आरोप लगाएको छ ।

चिनियाँ विद्युतीय र केही हाइब्रिड प्यासेन्जर कार, ट्रक, बस र डेलिभरी भ्यानमा क्यानडाले लगाएको अतिरिक्त कर अक्टोबर १ देखि लागू हुनेछ ।

यसको स्टिल र आल्मुनियममा अतिरिक्त कर अक्टोबर १५ देखि लागू हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com