अमेरिका र बेलायतका गुप्तचर प्रमुखले भने : विश्व व्यवस्थामाथी खतरा बढ्यो


प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार

विश्व व्यवस्थामाथी खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखले चेतावनी दिएका छन ।

अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका हुन ।

उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा शुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन्।

सहकार्यमा रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण रहेको भन्दै उनीहरुले लेखेको लेखमा रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न मिलेर काम गर्नु पर्दछ र त्यो गरिरहेका छौँ भनिएको छ।

अमेरिका र बेलायतले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएको तथा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो ।

बाइडेन र स्टर्ममरले अन्य कुराका साथै ‘युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने’ र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो ।

युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com