दिदीबहिनीका लागि व्रत लिएर अटवारी पर्व मनाइँदै


प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार

पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो ।

महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको हो । अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ ।

अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । अटवारीको तयारी शनिबारसम्ममा पूरा हुनुपर्ने हुन्छ । शनिबारको राति भिन्सर्या (दर भात) खाने चलन छ ।

आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।

त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।

दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दार्शाउने विशेष अवसर नै अटवारी हो ।

अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिइने गरेको हो ।

अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा आज सार्वजनिक बिदा दिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com