मगर राजाले राज्य गरेको गलेखामकोट ओझेलमा


प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार

गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट १ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ ।

सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ । आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन् ।

गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिनुभएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउनुहुन्छ । गलेखामकोटमा एकपटकमा २०–२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ । उहाँले व्यास–२ का सुदीप गफ्फार ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताउनुहुन्छ ।

गलेखामकोटको प्रचारप्रसार आवश्यक छ । सँगसँगै यहाँसम्म पुग्न सडक स्तरोन्नति गर्नुपर्छ । यसको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

कुनै बेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवर्द्धनका लागि स्थानीयवासी जुटेका छन् । गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भन्नुभयो धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना छ, यसको विकासका लागि हामी जुटेका छौँ ।

गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।

गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको छ । कोटभैरव मन्दिरमा दसैँका बेला विशेष पूजाआजा गरिने स्थानीय मनिता गुरुङले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com