पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ , झुरुप्प बस्तीको अपेक्षा पु्रा होलात ?


प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार

कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू ।

चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू ।

यी दृश्यहरू मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङगाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको सङ्गम हो । बीच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर बर्सेनि लाखौँ पर्यटक मुस्ताङ ओहोरदोहोर गर्छन् ।

जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङगाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीयवासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडासदस्य वीरप्रसाद थकालीले सुनाउनुभयो ।

आठवटा घरमा घरबास सञ्चालन भएको स्याङ गाउँमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङफोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताउनुभयो ।

थकाली खानाको परिकार देशविदेशमा प्रसिद्ध छ । अल्पसङ्ख्यक जातिमा सूचीकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् ।

स्याङवासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालीमा भरसक आफ्नै भाषा प्रयोग गर्छन् । १ सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ ।

गाउँको डिलमा रहेको उद्यानमा रातो र पहेँलो जातको स्याउको प्रतिमा बनाइएको छ । सँगै बौद्ध धर्मगुरु रिम्पोचेको सालिक र जङ्गली जनावर नाउरको पनि प्रतिमा छ ।

सालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फाबजार र स्याउबारी देखिन्छ । उद्यानलाई स्थानीयवासीले ‘मानशान्ति पार्क’को नाम दिएका छन् ।

सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भए पनि प्रचारप्रसारको कमीले स्याङ गाउँ ओझेलमा परेको ठहर गरेका स्थानीयवासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् ।

हरेक वर्षको साउनमा लाग्ने खिला मेलालाई उनीहरुले संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com