सुनसान घलेगाउँ पर्यटक पर्खदै , सिजनमा ५० हजारसम्म आम्दानी
प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार
विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ ।
ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।
यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् । मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ ।
जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन । यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रुपमा परिचित छ । यतिबेला स्थानीय एवं घरबास ९होमस्टे० सञ्चालकहरु पर्यटकको पखाईमा छन् । दैनिक २ सय देखि ३ सय पर्यटक आगमन हुने घलेगाउँमा वर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ ।
त्यसैले घरवास सञ्चालकहरु यतिबेला वर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन् । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब वर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताउनुभयो ।
घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उहाँको भनाइ छ । यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो । पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन् ।
गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् ।
पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । विसं २०५७ बाट सञ्चालनमा आएको घरबासमा यतिबेला ४४ घरमा घरवास ९होमस्टे० सञ्चालनमा छन् । एक रातमा तीन सय जना बास बस्ने क्षमता छ । साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन् ।
घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातिय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो ।
यस गाउँमा करिब १ सय ३५ घरधुरी छन् । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छे« हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ ।
यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।