तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै


प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार

मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुर कञ्चनपुरकी उर्मिला डगौराले ।

तीन दशकअघि १ कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएकी उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ ।

उहाँले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहनुभएको छ । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहनुभएको छ ।

हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ उर्मिलाले भन्नुभयो ।

तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो । २०५२ सालमा १ कट्ठा जग्गामा तरकारीखेती गर्नुभएकी उहाँले तरकारीखेतीकै आम्दानीले २ वर्षपछि २ कट्ठा जग्गा खरिद गर्नुभयो । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उहाँको भनाइ छ ।

उहाँको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उहाँका श्रीमानले किराना पसल सञ्चालन गर्नुभएको छ । उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएको छ ।

तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ , उर्मिलाले भन्नुभयो, अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।

उहाँले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म ६० लाख खर्च भइसकेको बताउनुभयो । सबै खर्च तरकारीखेतीबाटै धानेको उहाँको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com