स्पेसएक्स फ्लोरिडाको तटमा अवतरण , अन्तरिक्ष उद्योगका लागि ठूलो छलाङ भएको नासा प्रमुख नेल्सनको भनाई


प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार

‘स्पेसएक्स पोलारिस डन’ अन्तरिक्ष यान फ्लोरिडाको सामुद्रिक तटमा अवतरण गरेको छ । ड्र्यागन अन्तरिक्ष यान स्थानीय समयअनुसार आइतबार बिहान ३ बजेर ३७ मिनेटमा समुद्रमा अवतरण भएको थियो ।

अवतरणपछि यान र चालक दलको उद्धारका लागि उद्धारकर्ताको टोली तैनाथ गरिएको थियो । यानलाई पानीबाट निकालेको आधा घण्टापछि उद्धारका लागि तैनाथ गरिएको जहाजमा राखी स्टेसनतर्फ लगिएको छ ।

चालक दलका सदस्य तथा स्पेसएक्सका इन्जिनियर अन्ना मेनन यानबाट सबैभन्दा पहिला निस्कनुभएको थियो । त्यसपछि क्रमशः इन्जिनियर सारा गिलिस, चालक स्कट पोटेट र कमान्डर जारेड आइज्याकम्यान देखिनुभएको थियो ।

वित्तीय प्रविधि (फिनटेक) का अरबपति आइज्याकम्यानको नेतृत्वमा चार सदस्यीय टोलीले गत मङ्गलबार केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रा तय गर्नुभएको थियो ।

टोली नेता आइज्याकम्यानले ‘स्काइवाकर’ नामक संरचनामा टेकेर पृथ्वीको रोचक दृश्य हेर्दै ‘स्पेसवाक’ गर्नुभएको थियो । उहाँ केही मिनेटपछि फर्किनुभएपछि दोस्रो अन्तरिक्ष यात्री, स्पेसएक्स इन्जिनियर गिलिसले पनि ‘स्पेसवाक’ गर्नुभएको थियो ।

नासाका प्रमुख बिल नेल्सनले यो मिशनले व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ‘ठूलो छलाङ’ भएको साथै स्पेसएक्सका लागि अर्को उपलब्धि भएको पनि बताउनुभयो ।

वित्तीय प्रविधि फिनटेकका अर्बपति आइज्याकम्यानको नेतृत्वमा गएको ४ सदस्यीय टोलीले गत आधा शताब्दीमा खतरनाक भ्यान एलेन विकिरण क्षेत्रमा प्रवेश गर्दै ब्रह्माण्डको गहिराइमा यात्रा गरेको हो ।

अपोलो मिसनपछि पृथ्वीबाट मानवले यात्रा गरेको यो अहिलेसम्मकै सबैभन्दा टाढाको अन्तरिक्ष केन्द्रभन्दा तीन गुणा बढी अर्थात् ८७० माइल (१४०० किलोमिटर) को उचाइमा पुगेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com