आईसीसी विश्वकप लिग–२ : ओमानसंग नेपाल पराजित


प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग १ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानलाई नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टाएको हो ।

बलिङतर्फ नेपालका लागि गुलसन झाले पाँच विकेट लिए भने करण केसीले दुई तथा आरिफ शेख र सन्दीप लामिछानेले समान ए विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे। कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए। रोहित महत्वपुर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए।

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए। झाले ३१ बलमा आफ्नो चौथो ओडिआई अर्धशतक पूरा गरेका थिए।

जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

असोज १० गतेसम्म हुने शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो ।

क्यानडा ९ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । यो शृङ्खलामा नेपालले अब असोज ६ गते क्यानडासँग र असोज ८ गते ओमान खेल्नेछ ।

सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com