संयुक्त राष्ट्र सङ्घले भन्यो : सञ्चार उपकरणमा भएको विष्फोट युद्ध अपराध हुनसक्छ


प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार

संयुक्त राष्ट्र सङ्घले लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।

इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलबार र बुधबार भएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । करिब ३ हजार जना घाइते भएका थिए ।

पेजर र वाकी–टकी विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए । कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतङ्क निम्त्याएको थियो ।

अन्तर्राष्ट्रिय मानवीय कानूनले स्पष्ट रूपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्दछ मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपतकालीन सत्रमा सुरक्षा परिषदमा भन्नुभयो ।

नागरिकहरूमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो उहाँले भन्नुभयो । लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि बुबी–ट्र्याप जडान गरिएको बताएका छन् ।

हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विस्फोटको आफ्नै आन्तरिक अनुसन्धान सुरु गरेको छ।

सुरक्षा परिषद्मा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाको रुपमा व्याख्या गर्नुभएको छ ।

इजरायलले यस आतङ्कवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानूनको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको छ उहाँले बताउनुभयो । इजरायलले उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसङ्घ चिन्तित रहेको बताउनुभयो । उहाँले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com