अमेरिकामा राष्ट्रपति चुनाव : ह्यारिस दोश्रो बहसका लागि तयार , ट्रम्पले भन्नुभयो : ढिला भयो


प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार

अमेरिकामा हुने राष्ट्रपति पदको चुनावका डेमोक्रयाटीक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले दोश्रो बहसका लागि तयार रहेको बताउनु भएको छ ।

अक्टोबर २३ मा सीएनएनले आयोजना गरेको टेलिभिजन बहसको निमन्त्रणालाई स्वीकार गरेको ह्यारिसले जानकारी दिनुभयो । ह्यारिस अभियानले पनि चुनावी बहसका लागि तयार रहेको धारणा सार्बजनिक गरेको छ ।

नोभेम्बर ५ मा चुनाव हुने भएकाले संभवत उक्त बहस नै अन्तिम बहस हुनेछ । ह्यारिस तयार भएपनि रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प तयार हुने या नहुने अन्यौल छ ।

किनकी सेप्टेम्बरको बहस पछि दोश्रो बहस ह्यारिससंग नगर्ने धारणा ट्रम्पले सार्बजनिक गर्नुभएको थियो । ह्यारिसले गर्नुभएको टुइ्टमा आफुले खुशीसाथ दोश्रो बहस स्वीकार गरेको र उक्त बहसमा ट्रम्प पनि आउने अपेक्षा गरेको बताउनु भएको छ ।

तर ट्रम्पले अक्टोबर २३ को बहस धेरै ढिलो भइसकेको हुने बताउदै घुमाउरो पाराले उपस्थित हुन नसक्ने संकेत गर्नुभएको छ । उत्तरी क्यारोलिनामा भएको कार्यक्रममा ट्रम्पले भन्नुभयो अक्टोबर २३ सम्म अमेरिकीहरुले राष्ट्रपति चुनावमा भोट हाल्न थालिसकेका हुनेछन ।

अक्टोबर १ मा ह्यारिसका उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज र ट्रम्पका उपराष्ट्रपति उम्मेदवार सेन जेडी भान्स सीबीएसले आयोजना गरेको टेलिभिजन बहसको तयारीमा जुट्नु भएको छ । अमेरिकामा सामान्यतया उपराष्ट्रपति पदका उम्मेदवारहरुले बहस गरेपछि अन्तिम बहसमा राष्ट्रपति पदका उम्मेदवार सहभागि हुने चलन छ ।

फिलाडेल्फियामा एबीसी टेलिभिजनले आयोजना गरेको पहिलो बहसमा ट्रम्पमाथी ह्यारिस हावी भएको बिश्लेषकहरुले बताएका थिए । तर ट्रम्पले भने सहजकर्ता २ जना माथी एक पक्षिय भएको आरोप लगाउनु भएको थियो । आलोचकहरुले ट्रम्पले हरेक दिन स्थिती परिबर्तन गर्ने भएकाले अर्को बहस हुने बताएका छन ।

२७ जुनमा सीएनएनले आयोजना गरेको ट्रम्प संगको बहसमा कमजोर प्रस्तुती भएको भन्दै राष्ट्रपति जो बाइडेन चुनावी दौडबाट बाहिरिएपछि उपराष्ट्रपति ह्यारिसलाई डेमोक्रयाट्सहरुले राष्ट्रपति उम्मेदवारको रुपमा अगाडी बढाएका हुन । बाइडेनले पनि ह्यारिसलाई समर्थन गर्नुभएको थियो । सर्भेक्षणहरुले ह्यारिस र ट्रम्पकाबिचमा कडा टक्कर हुने देखाएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com