‘समिट अफ द फ्युचर’मा प्रधानमन्त्रीको सम्बोधन- ‘गरिबी’ अल्पविकसित मुलुकको साझा समस्या


प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई आज सम्बोधन गर्नुभएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क आउनुभएका प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गर्नुभएको हो । यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गर्नुभएको थियो ।

उहाँले अल्पविकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादनवृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिनुभयो ।

महासभामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com