इजरायलले लेबनानमा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ५ सय पुग्यो


प्रकाशित मिति : आश्विन ७, २०८१ सोमबार

लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला समेत रहेको बताएको छ । यी आक्रमणहरूमा १ हजार ६४५ जना घाइते भएका छन् ।

इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३ सय स्थानमा आक्रमण गरेको जनाएको छ ।

जसका कारण हजारौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।

इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ । जसका कारण र्२ जना घाइते भएका छन् ।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

यो द्वन्द्व ठूलो युद्धमा परिणत हुनेमा विश्वभरका नेताहरू चिन्तित छन् । इजरायली रक्षा बलहरूले लेबनानमा ८ सय भन्दा बढी स्थानहरूलाई लक्षित गरेको बताएको छ ।

IDF प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इजरायली वायुसेनाले ८ सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको थियो । लक्षित गरेका घरहरूमा हतियारहरू थिए ।

इजरायली सेनाले हिजबुल्लाह विरुद्धको आक्रमणको दायरालाई व्यवस्थित रूपमा बढाउँदै जाने बताएको छ ।

घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई इजरायलले आग्रह गरेको छ ।

हिजबुल्लाहले हतियार लुकाउन प्रयोग गरिरहेको आवासीय भवनहरूबाट टाढा जान सर्बसाधारणलाई इजरायलले म्यासेज र भ्वाइस म्यासेजबाट चेतावनी दिएको छ ।
लेबनानका सूचना मन्त्री जायद माकरीले चेतावनीयुक्त सन्देशहरू प्राप्त भएको पुष्टि गरेका छन् ।

उनले यो इजरायलले चलाएको ‘मनोवैज्ञानिक युद्ध’ को हिस्सा भएको समेत बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com