अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिस र ट्रम्पलाई स्वीङ स्टेटको भर
प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपतिका लागि आगामी नोभेम्बर ५ तारिखका दिन चुनाव हुँदैछ । तर राष्ट्रपतिका मुख्य दुई उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने अझै एकिन भइ नसकेको अमेरिकी चुनावी मतसर्वेक्षणहरूले देखाइरहेका छन् ।
यस पटकको चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मुख्य प्रतिस्पर्धी रहनुभएको छ ।
दुवै उम्मेदवारले एकअर्का विरूद्ध तिक्ततापूर्ण गालीगलौज गरिरहेका भएपनि आम अमेरिकी नागरिकले भने उहाँहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक जस्ता घरेलु मामिलाका विषयसँगै विदेश नीतिका बारेमा उहाँहरूका अडानलाई समीक्षा गरिरहेको बताइएको छ ।
एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसियन–अफ्रिकन मूलकी महिलालाई चुन्ने अवसर प्राप्त भएको छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनावमा सहज जित निकाल्न भने त्यति सहज छैन ।
सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा त्यसबेला निकै लोकप्रिय उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित हुनुभएको थियो ।
अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो ।
पछिल्लो पटक फाइभ थर्टी एटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ ।
गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफ्नो पक्ष निकै मजबूत बनाएको मानिए पनि मतदाताले दुवै उम्मेदवारप्रति खासै धेरै खुलेर समर्थन गरेका छैनन् ।
राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ ।
पपुलर मत धेरै ल्याएर मात्र पुग्दैन । अमेरिकी राष्ट्रपतिका लागि कूल ५३८ इलेक्टोरल कलेजमध्ये कम्तीमा २७० स्थान जित्नु पर्दछ । अमेरिकाका ५० वटा राज्यबाट जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेजको सङ्ख्या निर्धारण हुने गर्दछ ।
यही कारण धेरै जनसङ्ख्या र इलेक्टोरल कलेज रहेका राज्यहरूमा दुवै उम्मेदवारले प्रचारका कार्यलाई तीव्र बनाएका छन् ।
डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको सङ्ख्या लगभग बराबर छ ।
तर इलेक्टोरल कलेज सङ्ख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिएला भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।
स्वीङ स्टेट वा ब्याटलग्राउन्ड स्टेट (जुनसुकै उम्मेदवारले जित्ने अनुमान गरिएका) नामले चिनिएका केही राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् ।
केही वर्षदेखि अमेरिकी चुनाव वर्ग, क्षेत्र, लिङ्ग, ल्याटिनो, आप्रवासन जस्ता अनेक मुद्दाबाट विभाजित हुन थालेकाले रैथाने अमेरिकीहरूको दृष्टिकोण र धारणाले चुनावी परिणामलाई प्रभावित तुल्याउन थालेको धेरैको बुझाइ छ । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)