इजरायली हवाई हमलामा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु भएको पुष्टि


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो ।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा नसरल्लाहको मृत्यु भएको उल्लेख छ । नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समुहको नेतृत्व गर्नुभएको थियो ।

इजरायली सेनाले लामो समयदेखि यो आक्रमणको योजना बनाइरहेको बताएको थियो ।

इजरायलले ६४ वर्षीय नसरुल्लाहलाई कैयौँ इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर्याएको छ ।

इजराइलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गर्नुभएको थियो ।

वर्षौंदेखि इरानले हिजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको आरोप इजरायलले लगाउँदै आएको छ ।

खामेनीले आफ्नो वक्तव्यमा हसन नसरल्लाहको नाम नलिइकन सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ एकातिर लेबनानमा निहत्था मानिसहरूको हत्याले कट्टरपन्थी यहूदीहरूको बर्बर स्वभावलाई फेरि एकपटक उजागर गरेको छ।

अर्कोतर्फ, यी आक्रमणहरूले इजरायली नेताहरूको नीति कति अदूरदर्शी र मूर्खतापूर्ण छ भन्ने पनि प्रमाणित गरेको छ।

सन् २००६ मा समूह र इजरायलबीच अन्तिम पटक युद्ध भएयता हिजबुल्लाहको गढमा इजरायली लडाकू विमानले शनिबार रातिसम्म बेरुतको दक्षिण र बाहिरी इलाकामा आक्रमण गरेका थिए ।

सन् २००६ यता नसरल्लाह सार्वजनिक रुपमा विरलै देखिनुभएको थियो । सन् १९९२ मा अब्बास अल मुसावीको हत्यापछि उहाँ ३२ वर्षको उमेरमा हिजबुल्लाहको महासचिवमा निर्वाचित हुनुभएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com