बाढी पहिरो र डुबानमा परेर ६६ जनाको मृत्यु , ७९ बेपत्ता


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर ६६ जनाको मृत्यु भएकोछ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको छ । ७९ जना बेपत्ता भएका छन् ।

हालसम्म विपदमा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो ।

यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो ।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com