बाढीपहिरोमा परी १ सय जनाको मृत्यु , सोमबारदेखि मौसममा सुधार आउने


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १ सय एकजना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७ , सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५, पाँचथर ५ , भक्तपुर ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३ , सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।

यसैबिच देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।

ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।

नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com